आऊ आज सँगै हिँडौं गण्डकीको तीरैतिर
आपसमा बाँडौं हामी मनभित्रका दुःखपीर
बिरानीमा रुँदारुँदै थाके झैं छन् तिम्रा आँखा
म पनि त कठोर छैन थाकेका छन् मेरा आँखा
आऊ आज व्यथा पुछौं अँजुलीमा पानी भर्दै
साँझलाई ढल्न दिऊँ तीतामीठा कुरा गर्दै
मिलनमा धेरै हाँसे बिछोडमा साह्रो पर्ला
रोकूँ रोकूँ भन्दा-भन्दै आँसुसँगै मुटु झर्ला
आऊ आज बाचा बाँधौं जस्तो पर्छ भोग्दै जाने
जिन्दगानी पानी झैं हो तल-तल बग्दै जाने